रूपान्तरणको प्रक्रियामा माओवादी केन्द्र।

काठमाडौं/प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ।

माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ, यो चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनतालाई राम्रो परिणाम दिनैपर्छ।” प्रधानमन्त्रीले मात्र नभई, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउने उहाँको भनाइ छ।

“सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न देशलाई एकताबद्ध बनाएर लैजानुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टीको दुईमहिने सङ्गठनात्मक अभियान चलाउँदै छौँ। पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं। तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौं।”

दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपालको क्रान्तिकारी आन्दोलनमा दलितको भूमिका महत्वपूर्ण छ। शान्ति प्रक्रियामा आएपछि प्रगतिशील संस्कार मिचिएका छन्। सामन्ती पितृसत्तात्मक सोच ब्युँतिन खोज्दै छ, यसलाई रोक्न उत्पीडित जागरुक हुनुपर्छ।” आजको गोरखापत्रबाट ।