मिटरब्याजी साह प्रहरीको नियन्त्रणमा, घरबाट हतियार तथा तमसुकहरु बरामद

धनुषा/ मिटर ब्याजमा पैसा लगाउँदै आएका दिलिप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा साह बिरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी धनुषाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । मिटरब्याजी साह बिरुद्ध उजुरी परेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित निजको घर तथा पसलमा खान तलाशी गर्दा हतियार सहित विभिन्न कपाली तमसुक बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान १ र म्यागनमको खोका १ थान बरामद गरेको छ ।

यसका साथै प्रहरीले दिलिप साह तथा उनको श्रीमति ममता देवी साह समेत नाममा रहेको राजिनामा फारम सहितको जग्गा धनि पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको हो ।