सातै प्रदेशले पाए मुख्यमन्त्री, सुदूरपश्चिममा कांग्रेसको प्रयास असफल।

काठमाडौँ/मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् । बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बारा १ (२) बाट निर्वाचित यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादव गरी कुल ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मधेश प्रदेशमा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पथ्र्यो ।

यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गरेका छन् ।

यसैगरी कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन रहेको छ ।
उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको हो । यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमाले संसदीय दलको नेता समेत रहेको रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । सुदूरपश्चिममा कांग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई फकाएर कांग्रेसले सरकार बनाउने कसरत गरेको भएपनि त्यो सम्भव हुन सकेन ।
यसअघि नागरिक उन्मुक्तिले आफूहरुको माग मुद्दा सम्बोधनको सुनिश्चितताबारे सत्ता साझेदार दलहरुको नेतृत्वबाट लिखित प्रतिवद्धता मागेको थियो । सो माग सम्बोधन गर्ने प्रतिवद्धतापछि एमालेका रावललाई नै उसले अन्तिम समयमा आएर समर्थन गरेको हो । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । जहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले संख्या २९ पुगेको छ । यससँगै प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश १ मा तीन जना मन्त्री समेत बनिसकेका छन् ।

यसैगरी बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । उनी सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । जम्कट्टेलले सोमबार शपथसहित तीन सदस्यीय मन्त्रिमण्डल समेत गठन गरेका छन् । जम्कट्टेललाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् ।

यसैगरी गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई प्रदेशका ३३ सांसदको समर्थन छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्नेमा अघिकारीलाई ३३ सांसदको समर्थन रहेको हो । सम्बन्धित प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधार २ बमोजिम सातै प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।