प्रचण्ड मार्गमा मेयर दाहालद्वारा वृक्षरोपण, स्मार्ट सिटी निर्माणमा सहयोगको अपिल

चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि–गार्डसहित विरुवा रोप्न लागिएको हो ।

भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरका पहिलो चरणमा सबै ठूला ठूला सडकमा वृक्षरोपण, मार्किङ्, नाला तथा फुटरेल राखी सौन्दर्यकरण गर्न लागिएको जानकारी दिइन् । उनले यी कामहरु अगाडि बढाउदा तत्काल सुन्दरतामा कमी आए पनि भावी दिनमा सभ्य र सुन्दर नगर बन्ने उल्लेख गरिन् ।
यो पवित्र कार्यमा स्थानीयबासीलाई सरिक भई स्मार्ट सिटी निर्माणमा सहयोग गर्न पनि प्रमुख दाहालले आग्रह गरिन् । प्रचण्ड मार्गको काम अब केही समयभित्र सकिएसँगै २० किमी दायाँ–बायाँ वृक्षरोपण गरिने उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाकी वातावरण तथा हरियाली प्रर्वद्धन शाखा प्रमुख लक्ष्मी ठगुन्नाले करिब ७५५ वटा विरुवा माघको पहिलो सातासम्म रोपी सकिने जानकारी दिइन् । उनका अनुसार वीरेन्द्र फुल १२ महिना नै हरियो हुने र प्रदूषणमा पनि बाच्न सक्ने हुन्छ । यो कार्यको लागि १६ लाख खर्च हुनेछ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर २५ का वडा अध्यक्ष छविलाल सापकोटा, वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का निवर्तमान अध्यक्ष विजयकुमार भुजेलले मन्तव्य राखेका थिए ।
भरतपुर महानगरपालिकाले अहिले बाईपास रोडको डिभाइडरमा वृक्षरोपण भइरहेको छ भने पुलचोक गोन्द्राङ ६ लेन सडकमा पनि डिभाइडरमा वृक्षरोपण गरिने छ ।