चितवन महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

२५ करोड कारोबार हुने

चितवन/यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ ।

महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका संरचना निर्माणको काम सकिएको श्रेष्ठले बताए । विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ ।

महोत्सवमा रहने सम्पूर्ण कक्ष बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सवको उद्घाटन पुस २५ गते बिहान ८ बजे नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने बताए । त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको ओलीले बताए । उनकाअनुसार चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ ।
महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने भन्दै प्रवद्र्धन समितिका संयोजक ओलीले महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने तथा २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।