रौतहटमा विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

रौतहट/विद्युत सर्ट भएर आगलागी हुँदा रौतहटको गौर नगरपालिका(१ स्थित माइस्थान चोकमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।

इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको हो। अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो ।