बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

भरतपुर/बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ परेको छन् ।

गोरखा सिरानचोक स्थायी ठेगना भएर अहिले भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन्

मंसिर ४ गते निर्वाचनको दिन बिहान ६ बजे तिर भरतपुर महानगरपालिका–२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडि हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा ५५/६० वर्षको महिलाको शव फेला परेको थियो । शवको अवस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ गर्दै ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन् सक्ने व्यक्तिको पहिचान गरेको थियो ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएपछि उनको बयानको आधारमा विजयलाई भरतपुरको क्षेत्रपुरबाट नियन्त्रणमा लिएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताउनुभयो । उपलब्ध विभिन्न प्रमाणहरूलाई अध्ययन गर्दा दुईजनाले महिलालाई जबर्जस्ती करणी गरेको र पछि ढुंगाले हानेर हत्या गरेको डीएसपी पण्डितको भनाइ छ ।