चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु

चितवन/सवारी दुर्घटनामा परेर चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । उहाँ सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिनुभयो । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उहाँले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गर्नुभएको थियो । उहाँले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।