चितवनमा आज र भोलि मतदानमा प्रयोग हुने सामान वितरण गरिँदै

चितवन/प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने मतदान अधिकृतलाई मतदान कार्यमा प्रयोग गरिने सामान आजदेखि वितरण गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचन अधिकृतको कार्यालय मार्फत आज र भोलि मतदान कार्यमा प्रयोग गरिने सामान वितरण गर्न लागेको निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका दुर्गम ठाउँमा पुग्ने मतदान अधिकृतले आज नै बुझ्न सक्ने कार्कीले जानकारी दिनुभयो । पहिलो दिन इच्छाकामना र कालिका क्षेत्रमा खटिने कर्मचारीलाई वितरण गरिने छ । सुगम क्षेत्रका मतदान अधिकृतले पर्सि मतदान सामाग्री बुझ्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान अधिकृतले मतपेटिका, मतपत्र सहित ६३ प्रकारका मतदान सामाग्री बुझ्नेछन् । चितवनमा ४ सय ६० मतदान केन्द्र छन् । निर्वाचनको कार्यतालिका अनुसार, मंसिर १ गते सबै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्छ । कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने, मतदाता शिक्षाको लागि नमुना मतदान गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।

जिल्लामा ४ लाख ८ हजार ३४२ जना मतदाता रहेको छन् । यहाँ ३ हजार ६ सय ८० कर्मचारी निर्वाचनमा खटिँदै छन् । सुरक्षा कर्मी बाहेक एउटा मतदान केन्द्रमा आठ जना कर्मचारी खटिन लागेको कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक ४ जना स्वयमसेवक हुनेछन् । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि दुई स्थानमा मतदान गर्ने व्यवस्था गरेको छ । कार्यालयका अनुसार भरतपुर कारागार र मालपोत चोकमा मतदान गर्ने व्यवस्था गरिएको हो । चितवनमा अस्थायी मतदाता १ हजार ५४४ जना रहेका छन् । अझै थपघट हुन सक्ने निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकमा मत राख्न पाउनेछन् ।