आज कृष्ण जन्माष्टमी
काठमाण्डौ/आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइदैछ ।
वैदिक सनातन धर्मावलम्बीले देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।
आज ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड लाग्छ । आज काठमाण्डौका विभिन्न ठाउँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।