चितवनसहित आसपासका क्षेत्रका भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

चितवन/आज चितवनसहित आसपासका क्षेत्रका भारी वर्षा भएको छ । पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।