एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । २०७८ सालको एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिएका हुन्। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एकरदुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।