चितवनमा पासपोर्ट लिनेको संख्या झन्डै दोब्बरले वृद्धि

भरतपुर/चितवनमा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा चितवनको जिल्ला प्रशासन कार्यालयबाट १५ हजार ६१६ जनाले राहदानी लिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा चितवनमा राहदानी लिनेको संख्या नौ हजार ५२८ रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ९०६ जनाले जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी लिएका थिए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले झन्डै राहदानी लिनेको संख्या दोब्बरले बढेको हो ।

२०७८/७९ मा जिल्ला प्रशासन कार्यालय चितवनबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या नौ हजार २०३ रहेको छ । माडीबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन माडीबाट एक हजार ४०४ जनाले नागरिकता लिएका छन् । २०७७/७८ मा चितवन प्रशासनबाट ११ हजार ६४२ र इलाका प्रशासन माडीबाट एक हजार ३७६ जनाले नागरिकता लिएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन चितवनबाट प्रतिलिपि नागरिकता लिनेको संख्या १२ हजार ११७, माडी प्रशासनबाट ६९६, अङ्गीकृत नागरिकता लिनेको संख्या जिल्ला प्रशासनबाट आठ, माडीबाट दुई, जिल्ला प्रशासनबाट वैवाहिक अङ्गीकृत नागरिकता लिने ४३ र माडीबाट ११ जना रहेका छन् ।