चितवनमा घरजग्गा धितो राखेर बढीमा ४० प्रतिशतमात्र कर्जा लिन पाउने

चितवन/चितवनमा मौलाएको घरजग्गा कारोबारलाई राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाईसँगै थप संकुचित बनाउने भएको छ ।
चितवनमा पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ ।

मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र चितवनसहित अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

अब चितवनमा धितो मूल्यांकनको ४० प्रतिशतमात्र कर्जा लिन पाउने बनाएको छ ।

सिटिजन्स बैँक बाग्मती प्रदेशका क्लस्टर हेड सुवर्ण बुढाथोकीले मौद्रिक नीतिले ल्याएका प्रवधानहरु स्वागतयोग्य नै रहेको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । उनले भने, ‘ यसबारेमा राष्ट्र बैँकले बैँकहरुलाई आन्तरिक सर्कुलर पठाउँछ । दीर्घकालिनरुपमा मौद्रिक नीति राम्रो छ । अनुत्पादनक क्षेत्र मानिएको जग्गाको कारोबारलाई यसले नियन्त्रण गर्न खोजेको छ ।’ उनले यसबाट जग्गा धितो राखेर विदेश घुम्न जान खोज्ने परिपाटीलाई रोक्न खोजेको बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैँकहरुमा देखिएको तरलतालाई मौद्रिक नीतिले कम गर्न खोजेको बताए । उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्ने भनिए पनि उद्योगीहरुलाई उत्साहित पार्ने ढंगले नीति नआएको बताए । उनले आर्थिक वृद्धिदर आठ प्रतिशत बनाएर मूल्य वृद्धिदर घटाउने लक्ष्य भने चुनौतीपूर्ण रहेको बताए ।