बेपत्ता तारा एअरको जहाज मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाण्डौ/हिजोदेखि हराइरहेको तारा एअरको जहाज मुस्ताङको थसाङ २ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँले विमानको तस्बिर पनि राख्नु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो ।

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।
हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

सेना र प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथि सिलवालले जानकारी दिनुभएको छ ।