सम्पर्कविहीन तारा एयरको विमान भेटिएको आधिकारीक पुष्टि भएको छैनः सैनिक प्रवक्ता

पोखरा/आज विहानदेखि सम्पर्कविहीन तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालका अनुसार स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको हो ।
सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान शुरु हुन्छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वमा उद्धारकर्मी छन् ।

विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी सिलवालले जानकारी दिए । उनले भने– ‘सकेसम्म चाँडो पुग्न भनेका छौं, लगातार वर्षा र कुहिरोका कारण खोजी कार्य असहज भएको छ ।’

अहिलेसम्म विमान भेटिएको आधिकारीक पुष्टि भइनसकेको र फौज पुगेर हेरेपछि मात्रै विमान भेटिएको पुष्टि हुने सहायकरथी सिलवालले बताए ।