मतपत्र छपाइको काम सकियो,शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो ।
लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको आयोगका उपसचिव ऋषिराम भुषालले जानकारी दिनुभयो । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने उपसचिव भुषालले जानकारी दिनुभयो । आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ ।
आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, वाग्मती प्रदेशको चितवन र प्रदेश एकको मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी छ । पर्सि शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।