श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौँ/श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले आइतबार अबेर राति सामुहिक राजीनामा दिएका छन् ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए ।

तर, त्यसरी मन्त्रीहरुले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० जनाभन्दा बढीलाई पक्राउ गरिएको थियो ।

आर्थिक मन्दीको विरोधमा उनीहरुले कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए ।