माघ ५ देखि ८ गतेसम्म चितवनमा ‘५औं कृषि यान्त्रिकरण प्रदर्शनी’ हुने

चितवन/चितवनमा माघ ५ देखि ८ गतेसम्म नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा तीन दिने कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ ।

संघले चितवनमा ५औं यान्त्रिकरण मेला आयोजना गर्न लागेको बताएको छ । तीन दिने प्रदर्शनीमा १५० भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधि उपलब्ध हुने बताइएको छ । यस्तै, २० भन्दा बढी मुलुकबाट दुई हजारभन्दा बढी कृषि यन्त्र तथा औजार प्रदर्शनीमा राखिने बताइएको छ ।

प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार अपेक्षा राखिएको छ । यस्तै, ७० जिल्लाबाट कृषकहरू प्रदर्शनीमा सहभागी हुने अनुमान आयोजकको छ । प्रदर्शनीबाट नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरेर प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पुग्ने अपेक्षा छ ।

संघले कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको छ ।