मनकामना मन्दिरमा दर्शनार्थी बढ्दै, शनिबार एकैदिन नौ हजार बढीले गरे दर्शन

चितवन/गोरखाको सहिद लखन गाउँपालिका–२ मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी बढ्दै गएका हुन् ।
हरेक दिन मनकामना मन्दिर दर्शन गर्न जानेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले बताउनु भयो । उहाँका अनुसार हिजो शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताउनुभयो ।

उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे ।

सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।