भोलि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्ने

काठमाण्डौं/नेपाललाई अमेरिकी सरकारले एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ ।

अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् ।

फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ ।

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार आठ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने सरकारको तयारी छ ।