आजदेखि मौसममा सुधार: दुई, तीन दिन लगातार झरी नपर्ने

काठमाण्डौ/देशका धेरै ठाउँमा आजदेखि मौसममा सुधार आएको छ । गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अबको दुई, तीन दिन लगातार झरी पर्ने सम्भावना छैन ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुईरतीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ ।

‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भन्नुभयो । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् ।