पछिल्लो एक महिनामा नेपालमा ६० प्रतिशतले कोरोना सङ्क्रमणदर घट्यो

काठमाण्डौं/पछिल्लो एक महिनामा नेपालमा कोरोना सङ्क्रमणको दर झन्डै ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ पहिलो साता देशभर ४० हजार ३ सय ३८ सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो साता देशभर जम्मा १५ हजार ६ सय १४ सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो एक महिनामा ६० प्रतिशले सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले नागरिकमा कोरोनाप्रतिको जनचेतना र जनस्वास्थ्यका मापदण्ड पालनाका कारण सङ्क्रमण दरमा कमी आएको बताउनुभयो । यस्तै नेपालमा हालसम्म झन्डै ३० प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता एन्टीबडी पाइएको पनि मन्त्रालयले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुरका १ हजार ७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४ दशमलब ७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो ।
अनुसन्धानमा सहभागी कुल सङ्ख्याको ६१ प्रतिशतमा एन्टीबडी देखिएको थियो । पहिलो डोज मात्र खोप लगाएकामध्ये ५५ दशमलव १ प्रतिशतमा र दुवै डोज खोप लगाएका मध्ये ८२ प्रतिशतमा एन्टीबडी देखिएको छ ।