चितवनको नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्यो, एक घाइते, तीन बेपत्ता

चितवन/नाग्दीखोलाबाट त्रिशुलीमा कार खस्दा तिन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति पौने २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट अनियन्त्रित त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ ।