आज राष्ट्रिय संरक्षण दिवस

काठमाण्डौ/हरेक वर्षको असोज ७ मनाइदै आएको राष्ट्रिय संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा। हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले भीरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भू–दृश्यहरुको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र घोषणा भएर व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् ।

संरक्षित क्षेत्रहरुले २०७२ सालसम्म नेपालको कुल क्षेत्रफलको २३ दशमलव ३९ प्रतिशत भू–भाग ओगटेको छ ।