एक हप्ताभित्र मनसुन बाहिरिने सम्भावना

काठमाण्डौ/अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसपालिदेखि जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो ।