यमनमा विद्रोही समूहद्धारा नौ जनाको हत्या

काठमाण्डौँ/यमनमा विद्रोही समूह हुथीले नौ जनाको हत्या गरेको छ । आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई आक्रमणमा हुथी समूहका तत्कालीन सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको ज्यान गएको थियो ।

साउदी अरबले यो हवाई आक्रमण आफूले गरेको पुष्टि गरेको थियो । हवाई आक्रमणमा समादसहित ६ जनाले ज्यान गुमाएका थिए । आक्रमणमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्येका ९ जनालाई मृत्युदण्ड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अरु सात जनालाई पनि मुद्दा चलाएको थियो ।