आज विश्वकर्मा पूजा

काठमाडौँ/आज विश्वकर्मा पूजा, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आआफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीर वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।