सालकको आखेटोपहार सहित दुईजना पक्राउ

काठमाण्डौ/संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
२५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा सहित रामेछापको लिखु तामाकोशी गाँउपालिका – ३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो ।

मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले मन्थली नगरपालिका-१ देवकोटा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।