आगामी शनिबारसम्म वर्षाको सम्भावना

काठमाण्डौ/आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।