जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु

काठमाण्डौ/जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका गाईबस्तुको संख्या समेत लिइनेछ ।

घरपरिवारको बैंक खाता रहेरनरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए नलिएकोलगायतका विवरण समेत समेटिने विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । सूचीकरणको काम आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।