बारामा दुई बालकको घाँटी रेटेर हत्या

जेठ ४। 

वीरगञ्‍ज : बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । बारा प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका दुईजना बालकको हत्या भएको हो ।

स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जानकारी दिएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको हो ।

‘ सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकुर मगाइएको डिएसपी मिश्रले बताए । ‘

वरपर हेर्दा हतियार पनि फेला परेको छैन, उनीहरु कहाँ गएका थिए, कसलाई भेटे लगायतका बारेमा सोधपुछसँगै तालिम प्राप्त कुकुरको पर्खाइमा छौं ।’ उनले भने ‘कसले किन हत्या गरेको हो ? को को संलग्न छन ? पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’