राष्ट्रिय जनगणना २०७८ सम्बन्धि रत्ननगरमा सचेतना गोष्ठी सम्पन्न

रत्ननगर ,वैशाख ७ ।
सुनिता लामा :
रत्ननगरमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा मंगलवार स्थानिय स्तरको जनगणना सचेतना गोष्ठी गरिएको छ।

आगामी जेठ २५ गते देखि असार ८ गते सम्म “मेरो गणना मेरो सहभागिता ” भन्ने मुल नाराका साथ देश्व्यापी रुपमा हुन गइरहेको जनगणनाका बारेमा जानकारी दिने उदेश्यले जनगणना अन्तर्कृया तथा सचेतना कार्यक्रम गरिएको हो ।

रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनगणनाको परिचय,महत्त्व, जनगणनाका बिशेषता, आवश्यकता, नेपालको जनगणनाको संक्षिप्त्त इतिहास, मूख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरण,जनगणनाबाट प्राप्त तथ्यांकको प्रयोग लगायतका बारेमा जानकारी दिइएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका रत्ननगर प्रमुख नारायण वनले यस पटकको जनगणना कोशेढुङ्गा सावीत हुने बताउनुभयो।
जनगणनाले स्थानिय स्तरको जनसंख्याको तथ्यांकका साथै धनी गरिबको पनि तथ्यांक निर्धारण गर्ने हुँदा सोही हिसाबले ब्यबस्थापन र बिकासका कार्ययोजना तथा कार्यबिधिलाई सहयोग पुग्ने बताउनुभयो। जनगणनामा कुनै पनि त्रुटी हुन नदिन सुपरिवेक्षक र गणकहरु सङ्ग समन्वय गरि महत्त्वपूर्ण भुमिका निर्वाह गर्न रत्ननगर भित्रका सम्पुर्ण वडा अध्यक्षहरुलाई उहाँले आग्रह गर्नुभयो ।
तथ्याङ्क संकलन गर्दा स्थानिय तहमा रहेका सम्वन्धित सरोकारवला निकाय, जनप्रतिनिधि लगायतले आ–आफ्नो क्षेत्रबाट साथ सहयोग र समन्वय गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै रत्ननगर उपप्रमुख बिमला दुवडिले जनगणनामा स्थानिय स्तरका स्वयम् सेविकाहरुलाई सहभागी गराए थप बिश्वसनिय हुने धारणा व्यक्त गर्नु भयो ।
जिल्ला जनगणना अधिकारी यज्ञ मुर्ती भण्डारी र स्थानिय जनगणना अधिकारी नारायण प्रसाद रिजालले प्रस्तुतीकरण दिनुभएको थियो ।

आगामी जनगणना संघीय संरचना पछिको पहिलो गणना भएकोले महत्वपूर्ण रुपमा हेरिएको स्थानिय जनगणना अधिकारी रिजालले बताउनुभयो।

यस पटकको जनगणनामा मानिस सङ्ग सङ्गै जनावर, पशु लगाएतको पनि गणना गरिने भएकोले आगामी कृषि गणनामा सुची प्राप्त गर्नका लागि यस तथ्यांकले सहयोग पुग्ने बताउनुभयो। आगामी पौष देखि कृषि गणना गरिने पनि उहाँले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रमलाई समापन गर्दै स्थानिय जनगणना समन्वय समिती सयोजक शिशिर पौडेलले कोरोनाका कारण तथ्यांक संकलनको क्रममा समस्या उत्पन्न हुन नदिन सुरक्षा ब्यवस्थापनलाई समेत थप जिम्मेवार भएर काम गरिने बिस्वस्त पार्नुभयो । 
चितवनमा ७ वोटा स्थानिय जनगणना कार्यलय तोकिएको छ । रत्ननगरमा १,माडिमा १, खैरहनी र राप्तिका लागि राप्ती नगरपालिकामा १, कालिका र इच्छाकामनाका लागी कालिका नगरपालिकामा १ वटा कार्यलय छन भने भरतपुर नगरपालिकामा ३ वटा कार्यलय रहेका छन।
रत्ननगर नगरपालिकाको हकमा १२२ जना गणक र ३० जना सुपरिवेक्षक खटिने छ ।

चितवन लगायत देशभर आसन्न राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त्त जानकारी र तयारी कार्य लाई तिब्रता दिइएको छ ।

यसपटकको गणनामा सामुदायिक प्रश्नावलीको प्रयोग गरिनुका साथै सम्पुर्ण घरको प्रयोजन सहितको तथ्यांक संकलन गरिनेछ। सथै प्रविधिको प्रयोग पनि गरिने छ। स्थानिय तह अनुसार नतिजा प्रकाशन हुनेछ भने ९ महिना भित्र तथ्यांकिय प्रतिवेदन सार्वजनिक गरिनेछ ।
नेपालमा पहिलो पटक जनगणना वि.सं. १९६८ सालदेखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा १ पटक गर्ने गरिन्छ ।