‘एम्बुस’ जस्ता सडक, मर्मतमा छैन चासो

यतिबेला रोल्पाका अधिकांश सडक एम्बुस जस्ता बनेका छन्। हिँउदमा समेत सहज नहुने यी सडक वर्षात्को मौसममा झनै विकराल बनेका हुन्। जिल्लाका ग्रामीण सडकसँगै मुख्य सडकसमेत अस्तव्यस्त बने पनि मर्मततर्फ सरोकारवालाको चासो पुग्न सकेको देखिँदैन। विकास भनेको सडक हो भन्ने एक मात्र मान्यता बोकेका यहाँका विभिन्न सरकारी निकाय सडकको स्तरोन्नतितर्फ भने मौन जस्तै छन्।

दाङको भालुवाङदेखि लिवाङ जोड्ने र घोराहीदेखि होलेरी जोड्ने अर्को मुख्य सडक लामो समययता नाम मात्रको छ। त्यसो त जिल्लाका अधिकांश गाउँहरू सडक सञ्जालबाट टाढिएका छन्। सुलिचौर पोवाङ थवाङ जोड्ने सडक, लिवाङ घर्तीगाउँ हुदै सहिदमार्ग जोड्ने सडक पनि अलपत्र जस्तै छ। जिल्लामा सडकको जिम्मा पाएका कार्यालय र स्थानीय सरकारले सुधारतर्फ कुनै चासो दिएका छैनन्।

दाङको भालुवाङदेखि लिवाङ जोड्ने सडकका ठाउँ ठाउँमा माछा पोखरी जत्रा खाल्डा छन् भने भर्खरै कालो पत्रे गरिएका सडक उक्किएर हिँड्न योग्य छैनन्। गत वर्ष कालो पत्रे गरिएको घोराहीदेखि होलेरी जोड्ने अर्को मुख्य त झनै अत्यासलाग्दो देखिन्छ। त्यसो त अलि सुगम भनिएका विभिन्न पालिका पुग्ने सडक पनि असाध्यै जोखिमपूर्ण छन्।

सामान्य मर्मतले पनि सहज सञ्चालन हुने कतिपय सडक सुधारतर्फ कसैको चासो गएको छैन। अहिले थवाङ र सुनछहरी गाउँपालिकामा सवारीसाधन पुग्नसक्ने अवस्था छैन भने गंगादेव गाउँपालिका पुग्न दाङ हँुदै सल्यानको सडक प्रयोग गर्नुपर्छ। त्रिवेणी र परिवर्तन गाउँपालिकामा गाडी चढ्न पनि अवस्था कुर्नुपर्ने अवस्था छ।

गत साता दाङ, रोल्पाका सुरक्षा अधिकारीसँगै जनप्रतिनिधि सम्मिलित एक टोलीले सहिद मार्ग सुधार गर्ने भन्दै होलेरीमा बैठक गरे पनि कार्यान्वयन भएको छैन भने छलफलमा सहभागी सरोकारवालाले फर्किएर आफैंले गरेको निर्णय पनि हेरेका छैनन्। कोरोनालाई बहाना बनाएका उनीहरूले गत वर्ष पनि यस्तै हुँदा यसैगरी मौनता देखाएका थिए। भत्किएको सडकमा जबरजस्त यात्रा गर्नेलाई गन्तव्यमा पुगिन्छ या पुगिँदैन सधैं दोधार हुने गर्दछ।

सहिद मार्ग निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी र सिमेन्ट उद्योग टिप्परका कारण सडक बिग्रेको कार्यालयले बताएको छ। ‘कार्यालयले गर्ने काम गरिरहेको छ। दाङ बन्द भएका कारणले सडक मर्मतमा ढिलाइ भएको हो।’ सहिद मार्ग सडक आयोजनाका प्रमुख विष्णुबाबु पाण्डे भन्छन्, ‘दाङ, रोल्पाका सुरक्षा अधिकारीसँगै जनप्रतिनिधि सम्मिलित एक समितिले गरेको छलफलबमोजिम सिमेन्ट उद्योगका टिपरले आफ्नो जिम्मेवारी बहन गरेनन्।’

अहिले जिल्लामा कति प्रतिशत सडक सञ्चालनमा छन् भन्ने आधिकारीक तथ्यांक नभए पनि करिब ७५ प्रतिशत गाउँ यातायातबाट टाढिएका छन्। ‘केहीबाहेक अधिकांश मुख्य सडक चलिरहेका छन्।’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना भन्छन्, ‘ग्रामीण सडक पनि वर्षात् सकिएपछि सफा गराएर सञ्चालनमा आउँनेछन्।’

रोल्पा नगरपालिकाकाकै कतिपय सडक यतिबेला बन्द छन्। ‘कतिपय सडक बन्द छन। पुल नभएकाले र भत्किएकाले समस्या आएको हो।’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी भन्छन्, ‘डिभिजन सडक चकचकेको जिम्मामा रहेको एउटा प्रमुख सडक नै उसले हेरेको छैन।’ वर्षात्को कारणले सडक अवरोध भएको भनिए पनि मर्मत सुधारतर्फ भने कुनै पनि निकायले तदारुकता देखाएका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका हुन् ।