बागलुङमा बाढीको बितण्डा : ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु, ३६ बेपत्ता

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु हुनुको साथै ३६ जना भन्दा बढी स्थानियहरु बेपत्ता भएका छन् । बाढीले बगाएका ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिए । बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षाको कारण गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा ३६ जना बेपत्ता भएको स्थानीयले जानकारी दिए । ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ साबिक बोबाङ्ग गाबिसको पनि वडा नम्बर–९ को दुवालदेखि घट्टेचौर , सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको हो। घटनास्थलमा पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । गाडी जान सक्दैन । इलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले आफुहरु हिँडेर घटनास्थलमा जाँदै गरेको बताए । उनले फोनमार्फत क्षतिको विवरण फरक–फरक आइरहेको जानकारी दिए ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत् भने, “अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।”