‘इश्वरको सम्धीलाई अध्यक्ष बनाउन बोलाइएको बैठक सर्‍यो’

काठमाडौं/मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयन गर्न बुधबार बस्ने तय भएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठक बिहीबारका लागि सरेको छ ।
कोइरालाको विषयमा सबैतिर विवाद भएपछि बुधबार बैठक बस्न नसकेको बैंक स्रोतले जनाएको छ । ‘बुधबार बैठक बस्न सकेन,’ बैंकका कम्पनी सचिव भोला पौडेलले भने, ‘बिहीबार साँझ ५ बजे अनलाइन बैठक बस्ने तय भएको छ ।’ कोभिड–१९ को जोखिम उच्च भएकाले बुधबार सञ्चालक समिति बैठक बस्न नसकेको उनले बताए । कोरोनाको कारण देखाउँदै बिहीबार अनलाइन बैठक बस्ने भनिए पनि बुधबारचाहिँ कार्यालयमै बैठक बस्ने तयारी बैंक व्यवस्थापनले गरेको थियो ।
पौडेलले कोभिडका कारण सञ्चालक समिति बैठक बस्न नसकेको बताए पनि भित्री कारण कोइरालाको विवादास्पद छवि नै रहेको बैंकका एक उच्च अधिकारीले बताए । ‘कोइरालाको विवादास्पद छविका बारेमा सञ्चारमाध्यममा समाचार आयो,’ ती अधिकारीले भने, ‘यसकारण अघिल्लो दिन तय भएको बैठक पनि बस्न सकेन ।’ यो विषयमा बैंक व्यवस्थापनले अर्थ मन्त्रालयको राय लिनका लागि पनि बुधबारको बैठक सरेको हुन सक्ने ती अधिकारीको भनाइ छ।
वाणिज्य बैंकका निवर्तमान अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली रहेको पदका अर्थ मन्त्रालयले कोइरालालाई नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेका सञ्चालकमध्येबाट बैंक सञ्चालक समितिले एक जनालाई अध्यक्ष चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार बुधबारका लागि बैंकले बैठक डाकेको थियो । कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन् यो समाचार। कान्तिपुर दैनिक पत्रिकामा छापिएको छ।