कावासोतीबाट लागु औषध सहित थापा पक्राउ

नवलपुर प्रहरीले सवारी साधन चेकजाँचका क्रममा अवैध लागु औषध सहित कावासोतीमा एक जना युवा पक्राउ गरेको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नम्बर १६ तीनघरेबाट प्रहरीले ४६८ एम्पुल अवैध लागु औषध सहित चितवनका एक युवालाई पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँचका क्रममा प्र ३–०३००१प ५९५९ नम्बरको स्कुटरमा डण्डाबाट कावासोतीतर्फ आउँदै गरेका चितवनको भरतपुरका ३१ वर्षीय सुरेन्द्र थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङकाअनुसार थापाले शरीर र स्कुटरमा लुकाएर लैजाने क्रममा डाईजापाम १५६ एम्पुल, ब्रूनर्फिन १५६ एम्पुल र फेनरगन १५६ एम्पुल बरामद गरिएको हो ।

प्रहरीले घटनास्थलबाटै थापालाई पक्राउ गरी लागु औषध मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङले जानकारी दिए ।