४० लाख रुपैयाँ झ्वाम पार्ने एसपीको योजना चकनाचुर, छानबिनमा तानिए ।

काठमाडौं/नेपाल प्रहरी संगठनभित्र आफूलाई अरुभन्दा ‘क्लिन’ दाबी गर्ने एसपी विश्व अधिकारीको ४० लाख रुपैयाँ झ्वाम पार्ने योजना चकनाचुर भएको छ । २०७६ जेठ १४ मा मोरंगको एसपी भएर गएका अधिकारी गत असार पहिलो हप्ता हेडक्वार्टर सरुवा भए । तर सरुवा भएर आउँदा उनले मोरंग प्रहरीलाई ४० लाख बेरुजु बोकाएर हिँडेका थिए ।

अधिकारी सरुवा भएपछि उनको स्थानमा एसपी सन्तोष खड्कालाई पठाएको थियो । नयाँ एसपी खड्काले उक्त बेरुजु बुझ्न मानेनन् । सवारी, इन्धन, मर्मत तथा मसलन्द खर्चका नाममा देखाएको उक्त बेरुजुबारे खड्काले प्रहरी प्रधान कार्यालयमा उजुरी दिए ।

तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको निर्देशनमा आर्थिक प्रशासन महाशाखाले असार २० मा उक्त बेरुजु छानबिन गर्न इन्स्पेक्टर योगराज न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली बनायो । वास्तविकता छानबिनका लागि सो टोली असार २४ गते विराटनगर पुग्यो र सबै कागजपत्र लिएर हिँड्यो ।

छानबिन टोली त्यहाँबाट हिँडेपछि बीच बाटामै लेखापाल राधेश्याम दाहालको फोन आयो । उनले स्थानीय तहसँग पैसा लिनुपर्ने भएकाले उक्त बेरुजु देखिएको र अहिले आफूले सबै मिलाइसकेको जानकारी छानबिन टोलीलाई दिए ।

लेखापाल दाहाल अहिले सप्तरी सरुवा भइसकेका छन् । उक्त प्रकरणबारे प्रहरी प्रधान कार्यालयले अहिले कुनै थप प्रक्रिया अगाडि बढाएको छैन । तर, प्रहरी अधिकारीका अनुसार एसपी अधिकारी र लेखापाल दाहालले उक्त रकम झ्वाम पार्ने नियतका साथ योजना बनाएका थिए । तर, एसपी खड्काको कदमका कारण उक्त योजना तुहिएको बताइन्छ ।

सुब्बालाई गाडी, सहसचिवचाहिँ ट्वाँ
कर्मचारी संगठनको नेता हुनुको बेग्लै मज्जा । कर्मचारी संगठनको नेता भएकै आधारमा सरकारी सुविधाको दोहनका साथै सरुवाहरूमा चलखेल गर्ने क्रम बढ्दो छ ।

नेपाल निजामती कर्मचारी संगठन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीनिकटको कर्मचारी संगठन भएको विदितै छ । त्यही संगठनका एक उपमहासचिवले भने वर्षौंदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ढलीमली गर्दै आएका छन् ।

ती भाग्यमानी कर्मचारी हुन्– रामचन्द्र अधिकारी । सो मन्त्रालयको प्रशासन महाशाखामा सुब्बा पदमा कार्यरत अधिकारीले जबर्जस्ती मन्त्रालयको गाडी चढ्दै आएका छन् । उनी गाडी पाउने तहका कर्मचारी होइनन् । तर, संगठनको नेता भएकै आधारमा उनले एउटा गाडी हडपेर चढ्दै आएका हुन् ।

अझै पनि स्थानीय र प्रदेश तहका कतिपय कार्यालयहरूमा गाडीको अभाव छन् । कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू गाडी सुविधाबाट वञ्चित छन् । तर, अधिकारीले भने संगठनको दुरूपयोग गरेर गाडी चढेका हुन् । गाडी सुविधा त उनले पाएका छन् नै, कर्मचारीहरूको सरुवालगायतका कार्यहरूमा समेत उनको बोलवाला रहँदै आएको छ ।

सुब्बा तहका कर्मचारीहरूले गाडी हडपेर चढ्ने कार्यमा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले मात्रै बाजी मारेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत बस्याल थरका एकजना सुब्बाले पनि रेकर्ड राखेका छन् । उनले सोही मन्त्रालयका एकजना सहसचिवको गाडी हडपेर चढ्दै आएको कुराले सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेको थियो । सहसचिवले चढ्ने गाडी चढेर उनी घुमघाममा व्यस्त रहने गरेको बताइन्छ ।

यस्ता विकृतिहरू अनेक कार्यालयहरूमा छन् । माथिल्लो तहका कर्मचारीहरूको आशीर्वाद पाएपछि वर्षौंसम्म एउटै ठाउँमा बस्ने, अतिरिक्त सुविधा लिने प्रवृत्ति कर्मचारी वृत्तमा व्यापक छ । सामान्य प्रशासन मन्त्रालयकै स्टोरकिपर श्याम श्रेष्ठ यस्ता अनेक उदाहरणमध्ये एक हुन् ।

उनी स्टोरकिपरका रूपमा सो मन्त्रालयमा कार्यरत रहेका १५ वर्षभन्दा बढी भइसक्यो । तर, एउटा कर्मचारी एउटा कार्यालय वा शाखामा दुई वर्षभन्दा बढी बस्न नपाउने प्रावधान भए पनि दशकौं बितिसक्दा पनि उनको कतै सरुवा भएको छैन । उनलाई माथिल्लो तहका कर्मचारीहरूले रुचाउने भएकै कारण सरुवा नभएको बताइन्छ । यो समाचार बुधबार साप्ताहिकमा छापिएको छ।