बलात्कार कि बार्गेनिङ ?

किशोर बुढाथोकी/विराटनगर/विराटनगर महानगरपालिका–४ की ३६ वर्षीया महिला आफू बलात्कृत भएको भन्दै २०७६ साल जेठ ३ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेली पुगिन्।

नेपाल–बंगलादेश बैंक कर्सिया शाखाका प्रमुख ४१ वर्षीय अमित बास्तोलाले बैंकबाट ऋण दिने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेको भन्दै उनले किटानी जाहेरी दिइन्। घटनाको प्रकृति हेरेर अलमलमा परेको प्रहरीले तत्काल जाहेरी लिएन। विभिन्न निकायबाट दबाब परेपछि जाहेरी दर्ता गरी बास्तोलालाई पक्राउ गर्दै हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढायो।

जाहेरीमा आफू २०७५ चैत २६ गते बलात्कृत भएको महिलाले उल्लेख गरेकी थिइन्। अनुसन्धानका क्रममा बास्तोलाले कुनै प्रलोभन नदेखाइकन दुई जनाको आपसी सहमतिमै यौन सम्पर्क भएको बयान दिएका थिए। जबरजस्ती करणी मुद्दामा बास्तोलालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अहिले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।

बास्तोलाबाट पीडित भनिएकी महिला पुनः बलात्कारको अर्को जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पुगिन्। उनले आफूलाई २०७६ फागुन ३ गते बलात्कार गरेको भन्दै पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिइन्। प्रहरीले असार ३१ गते पक्राउ गर्दै विराटनगर महानगरपालिका–१२ बखरी घर भएका श्रेष्ठलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ।

विराटनगरमा रहेको काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालकसमेत ५० वर्षीय श्रेष्ठले कम्पनीको कार्यालयमा लगेर आफूमाथि बलात्कार गरेको उल्लेख गर्दै ती महिलाले जाहेरी दिएकी हुन्। पीडित भनिएकी महिलाले घटना भएको पाँच महिनापछि शंकास्पद हिसाबको जाहेरी ल्याएको भन्दै सुरुमा प्रहरीले दर्ता गरेन। तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाब आएपछि भने दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको हो।

जाहेरीमा श्रेष्ठसहित उनका भाइ ज्योति र श्रीमती रसिलालाई पनि प्रतिवादी बनाइएको छ। जबरजस्ती करणीको आरोप लगाएकी महिलालाई भने नयनले पटक–पटक गरेर पाँच लाख रुपैयाँ बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा यात्रा गर्ने क्रममा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन्। तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार रुपैयाँ श्रेष्ठले दिएपछि घटना मिलेको थियो।

तीन लाख २५ हजार प्रकरणमा प्रहरी नै साक्षी रहेको नयन र ती महिला जोडिएको घटना अहिले जबरजस्ती करणीमा परिणत भएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन महिलाबाट दबाब परेको थियो। पैसा नबुझाउँदा उनीमाथि विभिन्न नाम लिएर पुरुष व्यक्तिहरुबाट पटक–पटक धम्की आएको पाइएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए।

‘विभिन्न समयमा गरेर पाँच लाख बुझाइसकेका नयनले अब पैसा दिन नसक्ने बताएको र त्यसपछि धम्की आउन सुरु भएको पाइयो’, उनले भने, ‘अहिले सुरुमा पैसा लिने उनै महिलाले नयनविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी छन्।’

‘दुई जनाबीचमा सहमतिमै शारीरिक सम्पर्क भएको देखिन्छ’, प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि यो वा त्यो बाहनामा सुरु भएको पैसाको ‘बार्गेनिङ’ पछिल्लो समय करणीमा परिणत भएको पाइयो।’

दुवै घटनामा बलात्कारबाट पीडित भनिएकी महिलालाई त्यस अघि भने एउटा बलात्कारसँग सम्बन्धित घटनामै मोरङ प्रहरीले प्रतिवादी बनाएर मुद्दा चलाएको थियो। उनीविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जरबजस्ती करणी उद्योगको जाहेरी परेको थियो। सुनसरी इटहरीकी एक युवतीलाई विराटनगर बोलाएर जबरजस्ती यौन कर्ममा लगाएको आरोपमा ती महिला, सुनसरी इनरुवा घर भइ विराटनगर बस्ने सन्तोष मेहतासमेतलाई प्रतिवादी बनाएर प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

उनीहरुविरुद्ध प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले महिलालाई सफाइ दिएको थियो। सुरुमा जबरजस्ती करणीकी प्रतिवादी बनाइएकी महिला पछिल्लो दुईवटा घटनामा बलात्कार पीडितका रुपमा प्रस्तुत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। ‘तीन वर्षमा एकै जना महिलासँग जोडिएको एउटै प्रकृतिका मुद्दा छन्’, उनले भने, ‘एउटामा पीडक र अरु दुईवटामा पीडित बनेकी छन्।’

दुईवटा घटनामा विराटनगरको कञ्चनवारी ठेगाना उल्लेख रहेकी महिलाले बास्तोलाविरुद्धको घटनामा भने मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा डेरा गरेर बस्ने भनेर ठेगाना खुलाएकी छन्। ठेगाना अलग–अलग भए पनि सबै घटनामा जोडिएकी महिला एउटै भएको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार करणीसँग जोडिएका तीनवटै घटनामा भिडियो बनाइएको कुरा पनि आएको छ। पीडित भनिएकाले दिएको तीनवटै घटनाको जाहेरीमा भिडियो बनाएर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन्।

जबरजस्ती करणी उद्योगको मुद्दामा ती महिलामाथि भिडियो बनाएको आरोप लगाइएको थियो। बलात्कारको भिडियो खिचेर महिलाले आफूमाथि ‘ब्ल्याकमेलिङ’ गरेको इटहरीकी युवतीको दावी थियो। तर प्रहरीले अनुसन्धान गर्दा भिडियो भेट्न सकेन। अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टा छुट्टै बलात्कारको मुद्दामा पनि पीडित भनिएकी महिलाले भिडियो बनाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरी पटक–पटक बलात्कार गरेको दावी गरेकी छन्। बास्तोला जोडिएको घटनामा पनि प्रहरीले भिडियो भेट्न सकेन। नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरेको बताए पनि अहिलेसम्म त्यसको कुनै प्रमाण प्रहरीले फेला पारेको छैन।

पटक–पटक एउटै महिला अलग–अलग व्यक्तिबाट बलात्कृत भएँ भन्दै आएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। विभिन्न गिरोहसँग मिलेर ‘बार्गेनिङ’ गर्ने र त्यो नमिलेपछि मुद्दाका रुपमा आउने गरेको हो कि भन्ने शंका पनि उब्जिएकाले अनुसन्धान त्यसतर्फ पनि केन्द्रीत गरिएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए। उनले महिला विगतमा जोडिएका विवादित घटनालाई पनि केलाएर हेर्ने काम भइरहेको जनाए।
डीएसपी राई अहिले पीडित भएँ भन्दै आएपछि जाहेरी दर्ता गरेर महिलाको विगतसँगै विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको बताउँछन्। ‘बारम्बार पीडित बनेर आएपछि महिला जोडिएका यसअघि विभिन्न घटना पनि अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउँछौं।’ उनले यस अघिका पुराना फायल पनि केलाएर घटनाको अनुसन्धान भइरहेको बताए।

३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन्। दुई सन्तानसहित उनी विराटनगरमा बस्छिन्। तर प्रहरी अनुसन्धानबाट श्रीमानसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ। दुई वर्षमा दुई पटक आफू बलात्कृत भएको उजुरी लिएर प्रहरीमा पुगेकी महिलाको पेशा केही छैन। प्रहरी स्रोतकाअनुसार अहिलेसम्मको अनुसन्धान र विगतको पृष्टिभूमि हेर्दा महिला वास्तविक पीडित भए जस्तो देखिंदैन। अनुसन्धानका क्रममा उनीसँग विराटनगर र धरानका केही व्यक्तिको ‘कनेक्सन’ प्रहरीले फेला पारेको छ। जुन व्यक्ति मानिसलाई फसाएर अप्ठेरोमा पार्ने र पैसा असुल्ने गिरोहका रुपमा काम गरिरहेको देखिने प्रहरीका एक अनुसन्धान अधिकृतले बताए। प्रहरीले बलात्कारबाट पीडित भनिएकी महिलाको ‘कनेक्सन’ भेटिएपछि अहिले आफ्नो अनुसन्धान त्यो गिरोहतिर पनि सोझ्याएको छ।

त्यो गिरोहमा पूर्व प्रहरी पनि रहेको पाइएको छ। सामाजिक सञ्जालको माध्ययमबाट नजिकिने र सम्पर्क भएपछि पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको उजुरी प्रहरीसम्म पुगेको छ। तर यस विषयमा प्रहरीले थप कुरा खुलाउन चाहेन।

बास्तोला संलग्न रहेको भनिएको बलात्कार प्रकरणमा एक पूर्व प्रहरी पीडित भनिएकी महिलाको पक्षमा साक्षी बसेका छन्। यसले पनि पूर्व प्रहरीसहितको एउटा गिरोह महिलालाई प्रयोग गर्दै ‘बार्गेनिङ’ गरेर पैसा उठाउने धन्दामा संलग्न रहेको प्रहरीको दाबीलाई थप बल पुग्ने देखिन्छ। अदालतमा विराटनगर– १३ घर भएका ओम महत नाम गरेका व्यक्तिले बास्तोला जोडिएको घटनामा महिलाको पक्षमा बयान दिएका छन्। आफूलाई पूर्व प्रहरी बताउने उनले अदालतमा बयान दिंदा घरजग्गाको कारोवार गर्ने क्रममा ती महिलासँग आफ्नो चिनजान भएको बताएका छन्। घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी स्रोतका अनुसार महिलालाई प्रयोग गरेर ‘ब्ल्याकमेलिङ’ गर्ने गिरोहको सञ्जाल धरानसम्म रहेको पाइएको छ।

कानुन व्यावसायी विनोद तिम्सिना मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या र दुरुपयोग गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरिरहेको पछिल्ला केही घटनाबाट पुष्टि हुने बताउँछन्। अपराध संहितामा घटना भएको एक वर्षसम्ममा उजुरी दिनसक्ने व्यवस्था छ। ‘महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनसिल रुपमा लिने गरेका छन्’, तिम्सिनाले भने, ‘पछिल्लो समय कानुनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि बलात्कार भयो भनेर करणीको उजुरी गर्ने घटना बढिरहेका छन्।’

‘फेक’ बलात्कारका पछिल्ला केही घटनाले मुलुक र समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उब्जाएको उनको भनाइ छ। कानुनको सहारामा कतिपय घटना निर्दोषलाई दोषी करार गर्ने हिसाबमा आउने गरेको तिम्सिनाले बताए। बलात्कार जस्तो संवेदनसिल विषयमा कानुनले गरिदिएको सहजीकरणको फाइदा उठाउने गरिएको कतिपय दृष्टान्त रहेको उनको दावी छ।

‘महिलामाथि दिनदिनै बलात्कार भइरहेका छन्। तर एउटै महिला कति जनाबाट कति पटकसम्म बलात्कृत हुन्छन् भन्ने प्रश्न पनि त उब्जिएको छ’, कानुन व्यवसायी तिम्सिनाले भने, ‘एउटा घटनामा पीडक बनाएर प्रहरीले अनुसन्धान गरेकी महिला दुईवटा घटनामा भने आफू पीडित भएँ भन्दै आउनु नै शंकास्पद छ। सुरुमा सहमतिमा यौन सम्पर्क गरेपछि ‘बार्गेनिङ’ गरेर नमिलेपछि घटनालाई बलात्कारमा परिणत गरिएको हो कि भन्ने आशंका उब्जनु स्वभाविक हो।’ आजको अन्नपूर्ण पोष्ट दैनिकबाट