चितवन राष्ट्रिय निकुञ्जमा खानेकुरा खोज्‍न गएको छोरो फर्केनन: सेनाले कुटपिट गर्दा मृत्यु भएको परिवारको दाबी

चितवन/पूर्वपश्चिम राजमार्गको पिप्लेबाट झन्डै दुई सय मिटर उत्तर लागेपछि दाहिनेतिर अलि गहिरोमा जस्ताले छाएको एउटा सानो घर देखिन्छ । घरको देब्रे भित्तोमा जेनतेन इँटाको पूरै र दाहिने भित्तोमा चौथाइ जति मात्रै गारो छ । अगाडिको भागचाहिँ ह्वाङ्गै छ । पछाडिको भाग सिमेन्टको खाली बोराले बारेको छ । त्यही बोराको बारको आडमा राखेको खाटमा निस्लोट सुतेकी छन्– आइतीमाया चेपाङ ।
उनी हुन् निकुञ्जका सेनाले कुटपिट गर्दा ज्यान गुमाएका २४ वर्षीय राजकुमार चेपाङकी आमा । साउन १ गते राजकुमारसहित सात जना निकुञ्जभित्र गएका बेला सेनाले कुटपिट गरेको थियो । त्यसैको तोडले बुधबार राजकुमारको ज्यानै गयो । खबर सुनेपछि आइतीमाया भाउन्न भएर पल्टिइन् । बहिनी शोभा, आमाजू सीता र भाइबुहारी आशाले आइतीमायालाई केही खान भनिरहेका छन् तर उनले पानीबाहेक केही निलेकी छैनन् ।
आइतीमायालाई परेको यो दोस्रो पुत्र वियोग हो । ०७५ पुस १७ गते उनका १२ वर्षीय कान्छो छोरा आमोस क्यान्सरका कारण बिते । अहिले जेठो छोराको ज्यान गयो । रोगले छोरा बित्दा जेनतेन चित्त बुझाएकी आइतीमाया अहिले सम्हालिन सकेकी छैनन् । पुत्र वियोगले थला परेकी उनी बस्न–उठ्न गाह्रो भएकाले बिस्तारामै पल्टिरहेकी छन् । उनी धेरै बोल्दिनन् तर बेला–बेला अन्याय भयो भन्दै सुस्केरा हालिरहन्छिन् । ‘एउटा छोरो रोगले बित्यो, चित्त बुझाएँ । यो छोरो त रोगले हैन नि, कुटेर मारे । त्यसैले न्याय चाहिन्छ ।
मैले एक्लैले न्याय लिन सक्दिनँ तर समाज जुटाएर न्याय लिन्छु,’ बिस्तारामा पल्टेरै उनले भनिन् । उनी सुतेको ह्वाङ्गको छाप्रो पनि ऐलानी जमिनमा छ । घरमा आइतीमाया, श्रीमान् विष्णुलालसहित जेठो छोरा राजकुमारका श्रीमती र छोरी, माइलो छोरा र कान्छी छोरी बस्नुपर्थ्यो । यी सबै त्यहाँ कसरी अटाउन् रु त्यसैले खाना त्यही ‘मूलघर’ मा खाए पनि छोराहरू, बुहारी, नातिनी र छोरी भाडामा लिएको घरमा सुत्न जान्थे । त्यो घर ‘मूलघर’ भन्दा यस्सो माथि छ । त्यो घरको सानो पिँढीमा थिइन् रिपुमाया प्रजा चेपाङ । उनको काखमा डेढ वर्षकी छोरी एलिना खेलिरहेकी थिइन् । रिपुमाया राजकुमारकी श्रीमती र एलिना छोरी हुन् ।

चार वर्षअघि उनीहरूको बिहे भएको थियो । श्रीमान् बितेको सुनेदेखि उनको मनमा यसरी किन पिटेरै मारेको होला भन्ने कुरा मात्रै खेलिरहेको छ । ‘त्यो पिट्ने को हो, उसका पनि घरमा परिवार, सन्तान होलान् । पिट्नेले यसको पनि जहान केटाकेटी छन् भनेर सोच्नुपर्ने नि,’ उनले एकै सासमा भनिन्, ‘उहाँको कमाइले घरको खर्च जुटेको थियो । अब के हुन्छ रु यो छोरी कसरी हुर्काउने, कसरी पढाउने रु’

राजकुमारकी श्रीमती रिपुमायाले आफूलाई घोंगी मन नपर्ने तर श्रीमान्ले रुचाउने बताइन् । ‘त्यही खाएरै गुजारा चलाउने भन्ने त हैन, रहर गर्नुभयो । मैले नजानु भनेकै हो । जानुभयो । उहाँहरू गएर गल्ती भयो होला तर यसरी पिट्न त नहुने हो,’ रिपुमायाले आँसु खसालिन् । सुरुमा पिटाइ खाएको कुरा राजकुमारले नभनेको उनले बताइन् । सर्ट खोल्दा शरीरमा डाम देखेको र ४ गतेपछि मुखबाट रगत नै निस्केको उनले सुनाइन् ।

दुई वर्षअघि राजकुमार मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यो बेला उपचारपछि निको भएको उनले बताइन् । निको भएरै मज्जाले काम गरेर परिवार पाल्दै आएका थिए उनी । ‘अहिले त खै उपचार पनि गर्न पाइएन । मेडिकल लगेको हो । औषधि ल्याएर खाएको हो । निको नभएपछि अस्पताल लगेको हो । बाँच्छ कि भनेको बाँचेन । मेरो पनि ज्यानै उडेको छ । शव पनि बुझेको छैन । पोस्टमार्टम नगरी शव हेर्न पनि नपाइने भयो,’ रिपुमायाले भनिन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन्।