भरतपुर महानगरपालिकाद्वारा उन्नत सहकारीलाई कम्बाइन हार्बेस्टर प्रदान

भरतपुर/०१ साउन/भरतपुर महानगरपालिकाले वडा नम्बर १४ पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई कम्बाइन हार्बेस्टर प्रदान गरेको छ ।

नेपाल सरकारको सशर्त अनुदान अन्तरगत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार महानगर प्रमुख रेनु दाहालले कृषक समूहलाई हस्तान्तरण भएको हो ।

कम्बाइन हार्बेस्टरको साँचो हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख दाहालले कम्बाइन हार्बेस्टरको अधिकतम सदुपयोग गरी किसान तथा समुदायलाई सेवा प्रवाह गर्न समूहलाई आग्रह गर्नुभयो । प्रमुख दाहालले उन्नत बिज वृद्धि कृषक समूहलाई विगतमा पनि महानगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि
यसको निरन्तरता रहने भन्दै गुणस्तरीय बीउ उत्पादनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

सशर्त अनुदानमा प्रदान गरिएको सो कम्बाइन हार्बेस्टर उन्नत
सहकारीले कृषकका लागि सहुलीयत दरमा उपलब्ध गराउनुपर्ने महानगर प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
कम्बाइन्ड हार्बेस्टर प्रदान गरेकोमा महानगरपालिकाप्रति कृतज्ञता प्रकट गर्दै समूहका सदस्य केदार पौडेलले आगामी दिनमा पनि महानगरबाट सहयोग हुने आशा
व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको सशर्त अनुदान
कार्यक्रम अन्तरगत महानगरपालिकाले अनुदानस्वरुप २५ लाख पाँच हजार रुपैयाँ बराबरको सो हार्बेस्टर प्रदान गरेको हो ।