व्यवस्थित बन्दै भरतपुरका वडा कार्यालयहरु टेन्डर भएका भवनको निर्माण समयमै हुन्छ: प्रमुख रेनु दाहाल

भरतपुर/१ साउन/भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि
वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् ।
भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ ।
जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका
लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु
दाहालले बताउनुभयो । जनताले महसुस गर्नेगरि सेवा प्रदानका लागि वडा
कार्यालय व्यवस्थित पार्नुका साथै आफ्नै भवनमा सार्ने काम भइरहेको
दाहालले बताउनुभयो । उहाँकाअनुसार पछिल्लो तीन वर्षको अवधिमा
महानगरपालिकाको चार वटा वडा कार्यालय आफ्नै भवनमा सरेका छन् ।
भरतपुर महानगरपालिकाको ७, १३, १७ र २८ नम्बर वडा कार्यालयले
नयाँ भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् ।
त्यस्तै, महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को
आफ्नै भवन निर्माणको लागि काम भइरहेको नगर प्रमुख दाहालले
बताउनुभयो । बाँकी वडा कार्यालयका भवनहरु मर्मत गरेर काम भइरहेको
दाहालले बताउनुभयो ।
महानगरपालिका प्रमुख दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्ने
वडा कार्यालयहरुलाई व्यवस्थित नबनाउँदासम्म सेवा प्रवाहमा चुस्तता नआउने
बताउनुभयो । उहाँले वडा कार्यालयलाई चुस्त बनाउँदै व्यवस्थित र
प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थागरि काम अगाडि बढाइएको
बताउनुभयो ।
प्रकृयामा रहेका भवनहरुको निर्माणको काम समयमा नै सकिनेगरी
सम्झौता भएको प्रमुख दाहालले बताउनुभयो । ‘महानगरपालिकाको वडा
कार्यालयहरुले आफ्नै कार्यालयबाट सेवा प्रदान गरिरहेका छन्’
दाहालले भन्नुभयो, ‘निर्माणको प्रकृयामा रहेका भवनहरु समयमा
सम्पन्न गर्नका लागि महानगरपालिकाका प्राविधिकहरु फिल्डमा नै पुगेर
ठेकेदारलाई प्रत्यक्ष रुपमा निर्देशन दिने गर्नुभएको छ ।’ नगरवासीलाई छिटो र छरितो रुपमा सेवा प्रवाहका लागि जनप्रतिनिधि तथा
कर्मचारीहरु सचेत रहेको दाहालले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले
महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि
करिब ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको जानकारी दिनुभयो । त्यस्तै
करिब १० करोड ७० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम
भइरहेको लामिछानेले बताउनुभयो । भरतपुर महानगरपालिकाको चार वटा
नयाँ वडा कार्यालय पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको
उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका
लागि करिब ६ करोड ५० लाख रुपैयाँ खर्च भएको डिभिजनल इन्जिनियर
लामिछानेले बताउनुभयो । उहाँकाअनुसार महानगरका १, ३, ४,
६, ८, ९, ११,
१४, १५, १६, १८, २०, २१, २४, २५, २६ र २९ नम्बर वडा कार्यालयहरु मर्मत गरेर सञ्चालन भइरहेका छन् । भवन पुराना र साँघुरा भएका वडा कार्यालयहरु आफ्नै भवनमा सार्नेगरि काम भइरहेको लामिछानेले बताउनुभयो ।