अवैध मिर्गौला प्रत्यारोपणस् चिकित्सक, प्रहरी, वडाध्यक्ष लगायतको संलग्नता

प्रहरी, डाक्टर, वडाध्यक्षसहितको मिलोमतोमा मिर्गौला तस्करी भएको भेटिएको छ। जिम्मेवार निकायकै व्यक्तिहरूको संलग्नतामा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको मानव बेचबिखन केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

मिर्गौला प्रत्यारोपण भएको भन्दै ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। यस प्रकरणमा १२ जनाको संलग्नता रहेको ब्युरोले पुष्टि गरेको छ। ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनसहितको मिलोमतोमा २०७६ जेठ २७ गते कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरमा ललितपुरका एक व्यक्तिले मिर्गौला प्रत्यारोपण गराएका थिए। नाता प्रमाणित गर्ने कार्यमा वडाध्यक्षको संलग्नता देखिएको छ। वडाध्यक्षसहित पक्राउ परेका १२ जनामाथि ६ दिनको म्याद थप गरी ब्युरोले अनसन्धान थालेको छ।

उनीहरूले नक्कली कागजात बनाई विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरेका थिए। तेस्रो मानिसको मिर्गौला झिकी प्रत्यारोपण गरेकाले यो प्रकरणमा संलग्नमाथि मानव बेचबिखन ओसारपसार ९नियन्त्रण० ऐनअनुसार कारबाही हुनेछ। अनुसन्धानबाट पुष्टि भए दोषीले ऐनको २०६४ को दफा ४ उपदफा १ ९ग० अनुसार सजाय भोग्नेछन्।

ब्युरोका प्रवक्ता गोविन्द थपलियाले दुई प्रहरी, तीन चिकित्सक, एक वडाध्यक्ष, एक कानुन व्यवसायीसहित अन्य केही व्यक्तिको संलग्नता रहेको बताए। ‘आर्थिक कारोबार पनि भएको देखिएको छ। यसबारे हामीले गहिरो अनुसन्धान थालेका छौं,’ उनले भने, ‘उनीहरूमध्ये केही यसअघि पनि यस्ता कार्यमा संलग्न रहेको पाइएको छ।’ प्रवक्ता थपलियाका अनुसार पक्राउ पर्ने चिकित्सकहरूमा नोबेल अस्पतालका डा। राकेशकुमार बर्मा, कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरका संचालक अधिकृत डा। सुप्रभात श्रेष्ठ र सोही अस्पतालमा कार्यरत डा। बालकृष्ण कालाखेती। ब्युरोका अनुसार प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनालले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुना राजभण्डारीलाई डा। बर्मासँग भेट गराइदिएका थिए। मिर्गौला प्रत्यारोपण गर्दा प्रहरीले १० लाख लिएको र सोही रकमबाट मिर्गौला दिनेलाई केही रकम दिएको सोधपुछका क्रममा खुल्न आएको ब्युरोको भनाइ छ।

कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरका निर्देशक डा। मनोहर प्रधानले एक पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको विषय अनुसन्धान गर्ने भन्दै केही चिकित्सकलाई नियन्त्रणमा लिइएको बताए। ‘गत वर्ष जुलाईमा ५५ वर्षीय एक पुरुषलाई भान्जा नाता पर्ने भन्दै २५ वर्षीय पुरुषले नाता प्रमाणित, सम्बन्धित स्थानीय तहको सिफारिसलगायत कागजात र मानव अंग प्रत्यारोपण स्थानीय समितिको निर्णयसमेतका आधारमा मिर्गौला प्रत्यारोपण गरिएको हो,’ उनले भने, ‘हामीले आफूखुसी कोहीकसैको मानव अंग प्रत्यारोपण गर्न पाइँदैन। त्यसका विभिन्न कानुनी प्रक्रिया छन्। अस्पतालले प्रक्रिया र आवश्यक प्रमाणका आधारमा अगाडि बढेको तथ्य रहँदारहँदै कलेज र कार्यरत चिकित्सकहरूको बदनामी गर्ने ढंगले पक्राउ गर्नु आपत्तिजनक छ।’

सो प्रकरणका संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल र प्रत्यारोपण भएको अस्पतालका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्लेलाई पनि पक्राउ गरिएको छ। काफ्ले र ढकालमाथि गैरकानुनी कामलाई कागजी रूप दिन सघाएको आरोप छ। पक्राउ पर्ने अन्यमा निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक खनाल, ललितपुर–३ का वडाध्यक्ष महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका खरिदार नवराज केसी, कार्यालय सहायक रामकुमार केसी, भक्तपुर बस्ने जमुना र रेश्मा राई छन्। उनीहरूलाई जिल्ला अदालत ललितपुरबाट आइतबार म्याद थप गरिएको सोही अदालतका रजिस्ट्रार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए। पछिल्लो कानुनअनुसार पीडितसँगको बहसपछि मात्रै म्याद थप गर्न सकिने भएकाले करिब चार घन्टाको बहसपछि म्याद थपिएको उनको भनाइ छ। उनीहरूलाई महानगरीय प्रहरी परिसर ललितपुर र दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ।

अवैध मिर्गौला प्रत्यारोपणबारे जानकारी दिन ब्युरोले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो। तर, अदालतमा म्याद थप्न लगेको र त्यसबारे विवरण आउन ढिलाइ भएको भन्दै ब्युरोले पत्रकार सम्मेलन स्थगित गरेको थियो। नागरिक दैनिकबाट