मृगौला किनबेचको अबैध धन्दामा लाखौं रुपैयाँको चलखेल : प्रहरीले गर्यो डाक्टर र जनप्रतिनिधिसहित १२ जनाको नाम सार्वजनिक !

काठमाडौं/मृगौंला तस्करी र अबैध धन्दामा लाखौं चलखेल हुने गरेको खुलासा भएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, जनप्रतिनिधि, अधिवक्तासहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा नेपाल प्रहरीको बिशेष ब्युरो मानव बेचबिखन ब्युरोले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका सिईओ सहितका डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको हो । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य रहेका छन् । भारतीय नागरिक नगेन्द्र पम्पाटी र डा. भी नटराजको सँयुक्त लगानीमा सँचालित यस मेडिकल कलेज यसअघि पनि बिभिन्न काण्डमा मुछिँदै आए पनि शक्ति र पैसाको आडमा उम्कदै आएको जानकारहरु नै बताउने गर्दछन् । लाखौं रुपैयाँको चलखेल गरेर पुरानो मेडिकल कलेजमा गैरकानुनी तवरले मृगौला किनबेच भएको व्यूरोले जनाएको छ ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएका महर्जनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेको खुलेको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ। यता, मृगौला प्रत्यारोपणमा कुनैअवैधानिक र गैरकानुनी काम नगरेको कलेज अफ मेडिकल साईन्सेजले दाबी गरेको छ, कलेजले आज आईतबार एक बिज्ञप्ती निकाल्दै आफुहरुले मृगौंला प्रत्यारोपणको कार्य कानुनसम्मत रुपबाटै गरेको जिकिर गरेको छ।