प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरियो।

काठमाडौं/२५ असार/नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ असार २३ गतेको निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्‍याउने विश्चास व्यक्त गर्नुभयो । प्रहरी संगठन प्रमुखको नियुक्ति आमनागरिकको चासो र चर्चाको बिषय हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले त्यो चासो, चर्चा भइरहँदा प्रहरी संगठनको प्रमुखको नियुक्तिमा मर्यादित, स्वस्थ्य र सालिन किसिमको व्यवहार सम्भावित उमेदवारबाट प्रस्तुत भएकोमा अत्यन्तै सराहनीय रहेको र भोलिका पुस्ताले अनुकरण गर्न योग्य रहेको बताउनुभयो ।

राष्ट्र तथा नागरिकको अपेक्षा अनुरुप शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रणमा अझ कुशलता प्रदर्शन गर्ने, प्रविधिमैत्री अनुसन्धान पद्धतिलाई अगाडि बढाउने, नागरिककै साथीको रुपमा प्रहरीलाई अझ क्रियाशील तुल्याउने, प्रहरीको नागरिकप्रतिको सम्मानलाई अझ उच्च बनाउने र नागरिकबाट प्रहरी संगठनलाई प्राप्त हुने इज्जत, मर्यादा, अपनत्व तथा विश्चास बढाउने कुरामा नवनियुक्त प्रहरी महानिरीक्षकलाई सफलता प्राप्त हुनेछ र प्रहरी संगठन अझ सम्झन लायक हुने विश्‍वास व्यक्त गर्दै गृहसचिव न्यौपानेले भन्नुभयो, ‘नवनियुक्त प्रहरी महानिरीक्षकले ल्याउन खोजेका संगठनात्मक सुधारका योजनाहरुमा मन्त्रालयको भरपुर साथ, सहयोग र समर्थन रहने छ ।’

नेपाल प्रहरीको भूमिका आन्तरिक सुरक्षा र नागरिकको हक हित संरक्षणमा अरु सुरक्षा निकायको भन्दा बढी हुने भएकोले नेपाल प्रहरी अझ नागरिकमैत्री हुनुपर्ने चर्चा गर्दै गृहसचिव न्यौपानेले कानून कार्यान्वयनमा निर्मम भई अपराध नियन्त्रण तथा अनुशासनहिन कार्यमा शून्य शहनशिलता अपनाई दृढ भई आफूलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण कर्मचारीहरुको तर्फबाट नेतृत्वलाई सफल बनाउनेमा सहयोग हुने र प्रहरी महानिरीक्षकको तर्फबाट पनि सम्पूर्ण मातहतका कर्मचारीहरुलाई साथमा लिएर संगठन अगाडि बढ्नेमा पहल हुनेपर्ने उहाँले बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्नुभयो ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पुरा तागत यसमा लगाउने वाचा गर्दछु ।”
हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उलंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्, कसैले पनि बर्दीमा दाग लगाउने कोशिश गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताउनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा। आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका(५ मा जन्मनु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्री दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौं नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित हुनुभएको छ ।