अख्तियारको हिरासत घुसखोरी अभियुक्तहरुद्वारा खचाखच !

काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।
१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो । यो समाचार आजको राजधानी दैनिकमा छ।