ओली र दाहालबीच अझै रस्साकस्सी, नेकपा फुटको संघारमा।

काठमाडौं/नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।
प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् ।
ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो ।
नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।
यस्तै, उपप्रधान, रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटी सदस्य शर्मासहितको चार सदस्यीय एक कार्यदल गठन भएको छ ।
अनौपचारिक रूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्ने प्रयास गर्ने बताइएको छ । यो कार्यदलको आइतबार साझ दाहाल निवास खुमलटारमा बैठकसमेत बसेको नेकपा स्रोतले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।