कास्की क्षेत्र नम्बर ३ -मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन सुरु

पोखरा १६, असार/कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजी प्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरिएको हो ।

सोमबार ७ वटा योजनाको अनुगमन गरिएको अनुगमन समितिका संयोजक समेत रहेकी प्रदेश सांसद भण्डारीले बताइन्। उनका अनुसार पोखरा महानगरपालिका १९ मा दुई, कास्कीको माच्छापुछ्रे गाउँपालिकाका विभिन्न वडाका ५ वटा योजनाहरुको अनुगमन गरिएको हो । अधिकांश योजनाहरु हतार हतारमा सम्पन्न भएकाछन भने केही योजनाहरु निर्माण कार्य जारी अन्तिम समयमा सम्पन्न हुने अबस्थामा पुगेको संयोजक भण्डारीले जनाइन् । पोखरा १९ स्थित तल्लाकोट तल्लो डाँडा बाटो निर्माण तथा भूक्षय नियन्त्रक कार्यको लागि विनियोजित २६ लाखको ३ सय २० मिटर ढलान हुने काम अन्तिम चरणमा पुगेको निर्माण समितिका राम आचार्यले बताए । त्यस्तै पोखरा १९ कै शहरडहरमा सामुदायिक बहुउद्धेश्य भवन निर्माण भएको निर्माण समितिका सविन जिसीले बताए । उनका अनुसार ५ लाखको लागतमा हालै उक्त भवन निर्माण भएको छ ।

त्यसै गरी माच्छापुछ्रे २ घलेखर्क, खैमराङ मोटरबाटो तीन खण्डमा गरी एक सय ८५ मिटर ढलान गरिएको निर्माण समितिका अध्यक्ष सोम बहादुर गुरुङले बताए । उक्त योजनाको लागि १० लाख रुपैया विनियोजन भएको थियो । त्यसै गरी माच्छापुछ्रे ३ को स्याल्पे भूमे पार्क तथा पैदलमार्ग निर्माण कार्य हालै सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बिष्णु केसीले बताए । उक्त योजनामा १० लाख रुपैया विनियोजन भएको हो । माच्छापुछ्रे ३ को सृजना साहित्य सदनले एक लाख रुपैया बराबरको छतमा रेलिङ वार हालेको छ । माच्छापुछ्रे ४ को सानो भिरकटेरा सेती मुल अन्र्तगत सिंचाई कुलो निर्माण भएको छ । ५ लाखको लागतमा उक्त परियोजना हालै सम्पन्न भएको हो । माच्छापुछ्रे ४ कै च¥याङ, टुटुङगा हुदै रिभान जोड्ने पैदल मार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका अध्यक्ष मन बहादुर तामाङले बताए । उक्त परियोजनाको लागि ५ लाख बजेट विनियोजन भएको हो ।

माच्छापुछ्रे ५ को मोहरा जाने मोटरबाटो निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त योजना ७ लाखको हो । पोखरा महानगपालिका १, २, ३, १८, २५ वडा र माच्छापुछ्रे १, ६, ७, ८, ९ का वडामा छनौट भएका केही योजनाहरु केही दिनमा अनुगमन गरिने भएको अनुगमन सयोजक सांसद भण्डारीले बताइन्। अनुगमन टोलीमा सांसद भण्डारीको नेतृत्वमा माच्छापुछ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी दवाडी, अनुगमन समितिका सदस्य बिष्णु प्रसाद पौडेल, सम्बन्धित वडा अध्यक्षहरु, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इ. कीरण आचार्य लगायतको टोली सहभागि भएको थियो । अधिकांश योजनाहरु सम्पन्न भएको त्यसको प्राविधिक नाप जाप भने बाँकी रहेको डिभिजन प्रमुख इ.आचार्यले बताए । प्राविधिक रुपमा योजना सकिएसंगै भुक्तानीमा कुनै समस्या नहुने उनले जनाए । कास्की क्षेत्र नम्बर ३ (१) मा २५ वटा योजनाहरु छनौट भएका हुन्। कोरोना भाइरसको कारण देशमा लकडाउन हुनुले र ढिलो सम्झौता हतार हतारमा गर्नु परेको माच्छापुछ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए ।

नेकपा कास्की क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद रामजी बराल (जीवन) र सांसद पुष्पा केसी भण्डारीको सांसद विकास कोष अन्र्तगत एक करोड ५ लाखको बजेट माच्छापुछ्रे गाउँपालिकामा परेका हुन्। २ करोड मध्य बाँकी अर्थात ९५ लाख पोखरा १, २, ३, १८, १९ र २५ वडामा १२ वटा योजना परेकाछन् ।