स्करपियो र ग्यास बुलेट ठोक्किदा आमा छोराको मृत्यु,बाबु छोरी र चालक घाइते

चितवन/सोमबार साँझ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो र ग्यास बुलेट एकआपसमा ठक्कर खाँदा दुई जनाको निधन भएको छ भने तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम र २५ वर्षिय अनुज धिताल रहेका छन । उनिहरु आमाछोरा हुन् । प्रभाको सोमबार साँझ र धितालको आज विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हेटौंडा ५ का स्करपियो चालक ४८ बर्षिय राजन घिमिरे, यसैगरी ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धितालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाईतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनापछि बुलेटका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले चितवन जनाएको छ ।