४२ जिल्लामा फौजी कीराको आतंक

काठमाडौँ /प्रत्येक वर्षजसो यस वर्ष पनि प्रायस् जिल्लामा फैजी कीराको प्रकोप देखिएको छ । मुलुकभर करिब ४२ जिल्लामा यो कीराले समस्या पारिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । ‘गत वर्षको तुलनामा कीराको प्रकोप बढेको छ ।

मुलुकभर ४२ जिल्लामा पुगेको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रदेश र जिल्लास्तरबाटै कीरा व्यवस्थापन गरिँदै छ ।’ मकै बालीमा फौजी कीरा संक्रमण बढेपछि प्लान्ट क्वोन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले सबै प्रदेशसँग विवरण मागेको थियो । तर प्रदेश १ र ५ बाहेक अन्य प्रदेशबाट विवरण आएको छैन । ‘१ र ५ बाट मात्रै विवरण प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘जिल्लाअनुुसार १५ देखि २० प्रतिशतसम्म मकै नष्ट भएको देखिन्छ ।’

प्रदेश १ मा १४ जिल्लाका ३२ हजार ५ सय ४० घरधुरी प्रभावित छन् । उक्त क्षेत्रमा मकैमा घोगा लागेको र वानस्पतिक अवस्थामा फैजी कीरा लागेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेश १ का सोलुखुम्बु, मोरङ, सुनसरी, भोजपुर, झापा, खोटाङ, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत १४ जिल्लामा करिब १ लाख २२ हजार ३ सय ९५ हेक्टरमा मकै बालीमध्ये १० हजार ६ सय ३४ हेक्टरमा प्रकोप देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसमा १५ प्रतिशत क्षति पुगेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।